कोभिड—१९ ‘लकडाउन’को मानवशास्त्रः एक सहभागि दृष्टिकोण


डा. प्रदीप आचार्य सोमबार, १७ चैत, २०७६

कोभिड—१९ एक संक्रामक रोग हो जसले प्रभावित व्यक्तिहरुलाई सामान्य श्वासप्रश्वास सम्वन्धि अप्ठ्यारो अनुभव हुन्छ र अक्सर कुनै विशेष उपचार बिना नै निको पनि हुन्छ । फोटो: डा. प्रदीप आचार्य

फोटो: डा. प्रदीप आचार्य

काठमाडौं, विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड—१९ एक संक्रामक रोग हो जसले प्रभावित व्यक्तिहरुलाई सामान्य श्वासप्रश्वास सम्वन्धि अप्ठ्यारो अनुभव हुन्छ र अक्सर कुनै विशेष उपचार बिना नै निको पनि हुन्छ । खासगरि रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु वा अन्य रोग लागेका व्यक्तिहरु वा बालबालकिा तथा बृद्धबृद्धाहरुमा यो रोग बढेर गम्भिर हुनसक्ने संभावना बढि हुने अध्ययनले देखाएको छ। यसबाट बच्न तथा संक्रमण कम गर्नकालागि यसको कारण लक्षण तथा प्रभावबारे जानकारी राख्नु नै पहिलो कार्य हो । संक्रमित व्यक्तिको खोकि वा हाच्छिउँबाट निस्कने सिंगानका कणहरुद्धारा यो जीवाणु फैलने गर्दछ । यसकालागि हात धुने तथा सेनिटाइजर दल्नेनै हाल सबैले अपनाइरहेको तरिका हो साथै खोक्ने तथा हाच्छिउँ गर्ने तौडतरिकाहरु अपनाउनु समेत जरुरी हुन्छ । हाल कुनै बिशेष खोप तथा उपचार नभएको र सो अनुसन्धानकै क्रममा रहेको अवस्थामा माथि उल्लेखित सामान्य तरिकाहरु तथा अन्य अद्यावधिक सूचनाहरु प्राप्तगरि हामी सबैले विशेष सावधानि अपनाउन आवश्यक छ । कोरोना जीवाणुको संक्रमणबाट विश्वव्यापी प्रभाव परेको यस नरमाइलो अवस्थामा आजकलको आम संचार तथा हाम्रो दैनिक जीवनको अन्तरक्रिया यही प्रकोपको संक्रमण तथा मृत्युको तथ्याङ्क, रोकथाम र उपचारका विधि सम्बन्धि तथा ‘लकडाउन’ इत्यादीको खबर तथा चर्चाबाट भरिएको पाइन्छ । विशेष उपचार तथा खोप नभएको अवस्थामा संक्रमण बढ्न नदिनकोलागि यहि ‘लकडाउन’ एक मात्र विकल्प रहेको हामीले देखिरहेका छौं र भोगिरहेका छौं । हरेक नीति तथा कार्यक्रमको स्वभाविक रुपमा नकरात्मक तथा सकरात्मक दुवै प्रभाव हुन्छन् नै र यो ‘लकडाउन’ पनि त्यस्तै दुबै प्रकारका प्रभाव बोकेको हालको परिस्थितिमा अत्यन्त अपरिहार्य नीति तथा कार्यक्रम हो किनकि यो अमूल्य जीवन भन्दा ठूलो अरु कुरा केही छैन अतः कसैलाई मन परेपनि या नपरेपनि यो सबैद्धारा स्विकारीएको छ । यसै सन्दर्भमा नेपालमा हाल यस ‘लकडाउन’का के कस्ता प्रभावहरु परेको देखिन्छ भन्ने विषयमा यो एउटा दृष्टिकोण दिनु नै यो लेखको उद्देश्य रहेको छ । यस कार्य यो परिस्थितिको पहिलो हप्ताको अनुभव तथा अवलोकन, सिमित गरिएको प्रत्यक्ष सामाजिक अन्तक्रिया एवं विद्युतिय सामाजिक संजाल अन्तक्रिया र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचार माध्यमबाट प्राप्त सूचनामा आधारित रहेको छ । यसकालागि विभिन्न खालका प्रभावहरुलाई सजिलो तथा स्पष्टसँग प्रस्तुत गर्नकालागि विभिन्न आयामहरुमा वर्गिकरण गर्ने प्रयास गरेको छु । (क) वातावरणिय, राजनितिक, आर्थिक, सामाजिक तथा मानसिक प्रभाव । (ख) नकरात्मक वा सकरात्मक प्रभाव । (ग) सूक्ष्म वा माध्यमिक वा व्यापक तहमा परेको प्रभाव ।. वातावरणिय प्रभाव कुनैपनि प्रकारका रोगको उत्पत्ति एवं संक्रमण कुनै खास भौगोलिक अवस्था तथा पर्यावरणीय तत्वहरुको एक अंग हुन्छ साथै हरेक संक्रमणको प्रभाव त्यो हुने समग्र वातावरणमा परेको हुन्छ । नेपाली सन्दर्भमा अहिलेको ‘लकडाउन’ र वातावरणको पारस्परिक प्रभाव देहायमा उल्ल्ोख भएबमोजिम देख्न सकिन्छ । १. वायु तथा ध्वनी प्रदूषण घटेर खासगरि प्रदूषित काठमांडौ उपत्यकामा आकाश खुला देखिएर वातावरणमा आएको सुधार । २. नेपालमा हालसम्म संक्रमण केवल विदेशबाट हालसालै प्रवेश गरेका नेपालीबाट मात्र भित्रिएको देखिएको अवस्था भएपनि कुनै माध्यमबाट भित्रिइ सकेको हुनसक्ने वा भित्रिन सक्ने संभावनाको अवस्था । राजनितिक प्रभाव राजनितिक रुपमा हेर्दा सर्वप्रथम यो संक्रमण स्पष्टसंग पुष्टि नभएको भएपनि केही ठूला शक्ति राष्ट्रहरुको जैविक—रासायनिक युद्धको शुरुवात् नै पो होकि भन्ने आशंका जनमानसमा परेको स्पष्ट देखियो हालांकि हाल देखिएको यो विश्वव्यापी संक्रमणको प्रवृत्ति तथा मृत्युको तथ्याङ्क र विभिन्न देशहरुले भोगिरहेका विपत्ति तथा अपनाइरहेका गतिविधिहरुले सबैको ध्यान तथा प्राथमिकता त्यो शंकातिर भन्दापनि यसलाई कसरी रोकथाम गर्ने कसरी सामना गर्ने भन्ने तिर स्थानानतरण भएको छ । यस सन्दर्भमा परेको राजनितिक प्रभाव देहायमा उल्ल्ोख भएबमोजिम देख्न सकिन्छ । १. सरकारको समय तथा प्रयास यहि समस्यामा केन्द्रित हुनुपर्दाको अवस्थामा देश र जनताका अन्य दैनिक कार्यहरु तथा बिकासका कार्यहरुमा हुनसकेको छैन । २. यहि समस्याको समाधान गर्ने हेतु हुने खर्च, सामाग्री आयात समेतमा भ्रष्टाचार भैरहेको भन्ने खबर आम संचारमा देखिरहेको अवस्था । ३. ‘लकडाउन’को नाममा कालो बजारी, कृत्रिम अभाव तथा मौकाको अन्य फाइदा लिने प्रवृत्ति देखिन्छ । ४. स्वभाविक रुपमा आपूर्ति तथा अन्य दैनिक कार्यमा आएको गतिरोधले सम्प’र्ण राज्य संयन्त्र स्थगन जस्तो अवस्था । ५. ‘लकडाउन’ सफल पार्नकालगि गर्नुपर्ने सडक तथा हवाई यातायात बन्द, बजार बन्द, सरकारी तथा निजि कार्यलयहरु बन्द, सिमा नाका व्यवस्थापन इत्यादी गर्नका लिइएका शिघ्र निर्णयहरु कार्यान्वयन गर्न सरकारमा अत्याधिक दवाबमा परिरहेको अवस्था । ६. विद्यमान ‘लकडाउन’ लाइ कहिलेसम्म र कसरी निरन्तरता दिने वा नदिने, नेपालमा हाल संक्रमण तुलनात्मक रुपमा त्यति खतराजनक देखिइनसकेको अवस्थामा केवल भारतिय सिमा तथा अन्तर्राष्ट्रिय हवाइ यातायात बन्द गरि यो अवस्था खुलाउने वा नगर्ने भन्ने अन्यौल । आर्थिक प्रभाव आर्थिक रुपमा हेर्दा नेपालमा यो परिस्थितिमा विभिन्न तहमा देहायका नकरात्मक तथा सकरात्मक प्रभाव परेको देख्न सकिन्छ । १. उद्योग, कलकारखाना, बजार एवं उत्पादनहरु घट्दै गएको अवस्थामा समग्र अर्थतन्त्र गतिहिन हुने संभावना । २. कृतिम अभाव, कालोबजारी र मूल्य बृद्धि । ३. स्वभाविक रुपमा उत्पादन तथा आपूर्ति असहज भएको अवस्थामा वितरणका विभिन्न तहमा खर्च बढ्न गएको कारणले भएको मूल्य बृद्धि । ४. सरकारी मानव स्रोत तथा भौतिक स्रोतको अत्याधिक लगानी गर्नुपरेको अवस्थामा राज्यको खर्च बढेर अर्थतन्त्रमा ठूलो प्रभाव पर्न सक्ने अवस्था । ५. नेपाल भ्रमण वर्ष २०२० सुरु नै हुन नपाई असफल हुन गएकोमा थप आर्थिक निराशा । ६. पारिवारिक तहमा हेर्दा दैनिक आवागमनमा हुने सार्वजनिक सवारी साधन तथा इन्धन खर्च साथै घर भन्दा बाहिर गरिने खर्च घटेको अवस्था । सामाजिक (मनोसामाजिक समेत) प्रभाव माथि उल्लेखित वातावरणिय, राजनितिक तथा आर्थिक परिस्थितिमा स्वभाविक रुपमा समाज तथा यसका सदस्यहरुमा देहायका प्रभाव परेको देख्न सकिन्छ । १. दैनिक रोजगारी तथा व्यावसायबाट बिदाजस्तै भई सबैजना घरपरिवारमा वा समुदायमा नै आराम गरेर वा घरकै काम गरेर बस्न पाँउदा सामाजिक सम्बन्धको गुण सधैँ भन्दा अझ बढि राम्रो भएको हुनसक्ने देखिन्छ । २. यद्यपि एकले अर्कालाई सार्ने हो कि भन्ने डरले तीन फीटको दूरीमा बस्नु पर्ने भन्ने सतर्कता अपनाउनु पर्ने अवस्थामा एक आपसमा घर भित्रैपनि टाढा हुनुपर्ने अवस्था । ३. प्राय परिवारका कोही न कोही सदस्य विदेशमा रहेका र विदेशमा संक्रमण देखिइरहेको अवस्थामा नेपालमा आफू सुरक्षित देखिएपनि हाल सबै सँगै बस्न नपाउँदा अत्याड लागिरहेको पनि देखिन्छ । ४. संचार माध्यमको कारणले फुर्सदको समयमा सामाजिक संजाल मार्फत देश बिदेशमा रहेका नातेदार, साथिभाइ, आफन्त बिच अन्तरक्रिया बढेको र एकप्रकारको एक्यबद्धता देखिन्छ चाहे त्यो केवल सामाजिक संजालमा गरिने टीप्पणीनै मात्र भएपनि किन नहोस् । ५. समुदायमा सँगै बसेर गर्ने गफगाफ तथा सल्लाह, प्रभातफेरी, खेलकुद, बजार जाने जस्ता क्रियाकलापमा कमि आएको साथै बिदाको समयमा हुने पाहुना आउने जाने खालका भेटघाट बन्द भएको अवस्था । ६. चाडपर्व (उदाहरणकोलागि हालसालै गएको होली) तथा भोजभतेर इत्यादीको रमाइलो गर्न सक्ने परिस्थिति नरहेको । ७. यस बाहेक अन्य खास उद्देश्य बोक्ने सभा, समारोह तथा बैठक समेत गर्ने परिस्थिति नरहेको । ८. विद्यार्थिहरुको पठनपाठन बन्द भै घरमा समय बितिरहेको तथा जागिर पेशा व्यावसायीहरु बेरोजगार भै घरमा थन्किनु परेकोले आखिर कहिले सम्म भन्दै सामुहिक रुपमा पट्यार लाग्दै गएको अवस्था । ९. रोजगारी र आयको स्थायीत्व भएका बाहेक समाजका न्यून आय भएका दैनिक ज्यालाबाट गुजारा गर्नुपर्ने सदस्यहरु साथै सानातिना व्यावसायीहरुलाई मर्का परी दिनप्रतिदिन अप्ठ्यारो बढ्दै गइरहेको । १०. विशेषगरि यस समयमा परिवारमा सदस्य बिरामी भै उपचाररत रहेका, हालसालै बिरामी भै अस्पतालमा उपचार गर्नृपर्ने भएका साथै परिवारको सदस्यको मृत्यु भै काजक्रिया गर्नुपर्ने परिस्थितिमा वास्तवमै नियतिले अत्यन्तै कठिनाइ भएको देखियो । ११. केही हालसालै नयां कार्य, व्यापार, व्यावसाय सुरु गरेका या त्यस्तो योजना बनाएकाहरुको आशामा तुषारापात भएको पाइयो । १२. बिभिन्न कार्यालयमा (सरकारी, गैरसरकारी तथा निजी) विभिन्न सेवा लिइरहेका वा लिनुपर्ने सेवाग्राहिलाइ सम्बन्धित व्यक्तिहरुलाई सेवा प्राप्ति अनिश्चितता तर्फ गइ विखलमन्द भइरहेका र विदेशबाट बिदा मनाउन आएकाहरु काममा फिर्ता जान नपाइ घरमा बसेको अवस्था । मानसिक प्रभाव माथि उल्लेखित बिभिन्न आयाममा उल्लेख गरिएका धेरैजसो नकरात्मक प्रभावहरुले स्वभाविक रुपमा हामीलाइ विभिन्न प्रकारमा मानसिक दबाव एवं समस्या तर्फ धकेल्न सक्छ भन्ने कुरा स्पष्ट छ । पारिवारिक सम्मिलन र दैनिक कार्यबोझबाट भएको या पहिलो एक हप्ताको छुट्टीका कारण आरामको महसुस भैरहेको भएतापनि ‘लकडाउन’ पूर्वको अवस्था जत्तिको खुशी बिल्कुलै देखिदँैन र यो लम्बिंदै गएको अवस्थामा मानसिक रुपमा झन्झन् समस्याग्रस्त हुँदैजानेछ भन्दा अत्युक्ति नहोला । बुँदागत रुपमा देहाय बमोजिम केहि मानसिक प्रभावहरु प्रस्तुत गरिएको छ । १. आफै बिरामी भइसकियो की वा बिरामी भइन्छ की भन्ने पिर साथै सँगै वा टाढा रहेका परिवारका सदस्यहरु, आफन्त तथा शुभचिन्तक बिरामी हुन्छन् भन्ने चिन्ता व्याप्त छ । आफूद्धारा अरुलाइ वा अरु द्धारा आफूलाई संक्रमण हुन्छ कि भन्ने डरले समेत घरिघरि सताईरहेको देखिन्छ । २. अन्य शारिरिक वा मानसिक समस्या वा दीर्घरोग भएकाहरुलाई अझ बढी चिन्ता छ । साथै उमेर अनुसार देखिएको जोखिमको तथ्याङ्कले समेत त्यो उमेर समूहका सदस्यहरुलाई मात्र नभै परिवारका सदस्यहरुलाई समेत चिन्ता छ । ३. स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, औषधि तथा खाद्य सामाग्री व्यावसायी जस्ता पेशागत बाध्यताका कारण सँधै घरमा बसिरहन सम्भव नभएका पेशाकर्मीहरुलाई संक्रमणको आशङ्काले झस्काइरहेको देखिन्छ । ४. इत्यादी कारणहरुले चिन्ता, उदासीपन, लागूपदार्थको प्रयोग बढ्न सक्ने सम्भावना देखिन्छ र परिवारबाट टाढा भैरहेकहरुलाई दैनिक जीवनयापनको व्यवस्थापन समेतको समस्या लगायत एक्लोपनको भावना बढ्न सक्ने देखिन्छ । निष्कर्षः के गर्न सकिन्छ त ? माथि छलफल गरिएका वातावरणिय, राजनितिक, आर्थिक, सामाजिक तथा मानसिक गरि पाँच आयाममा उल्लेखित तीस बिभिन्न प्रभावहरुलाई केलाएर हेर्दा स्पष्ट छ नकरात्मक नै बढि देखिन्छ र सकरात्मक नगन्य छन् र जुन छन् ती पनि एक क्षणको ठट्यौलीकोलागि बढी उपयुक्त देखिन्छन् । यति मात्र होइन ती नकरात्मक प्रभावहरु सबै तहमा व्याप्त छन् । एक व्यक्ति वा पारिवारीक (सूक्ष्म तह), सामुदायीक वा सामुहिक (मध्यम तह) र राष्ट्रिय वा अन्तर्राष्ट्रिय (व्यापक वा उच्च तह) सबै तहमा यी प्रभावहरु परिरहेको परिस्थितिमा समस्याको समाधान झन् जटिल देखिन्छ । कुनै एक तह मात्र प्रभावित भएको अवस्थामा यो समाधान सहज हुनसक्थ्यो । भर्खर मात्रै रोगको उपयुक्त परीक्षणका सामाग्री बिदेशबाट नेपाल आउंदैछ भन्ने समाचार प्राप्त भएको छ । धन्य त्यो कोरोना नामक जीवाणु रुघाखोकीको जीवाणुजस्तो आफै हावाको माध्यमबाट फैलिने होइन । त्यो त त्यति बेलामात्र आउंछ जतिबेला त्यो जहाँ छ हामी त्यहां लिन आफै जान्छौं र त्यसको सम्पर्कमा आउछौँ । जति जति यो ‘लकडाउन’ लम्विदै जान्छ त्यति नै यसका प्रभावहरु निरन्तर हुँदैजान्छन् । एउटा व्यक्ति वा परिवारको तहबाट हेर्दा लामो समयको घरभित्रको बसाइ तथा बेरोजगारीको पट्यार लाग्दो दिनचर्यासँग सहज हुनकालागि घरमै बसेर सृजनात्मक कार्य गर्ने त अब सकरात्मक बाध्यता नै हो र यसलाई अपनाउनै पर्छ साथै सामाजिक संजाल तथा मोबाइल सेवा प्रदायकहरुले विशेष बोनस प्रदान गरिरहेको अवस्थामा सो को पनि सदुपयोग गरि आफूलाई केहिमा संलग्न गराउन सकिन्छ । अन्यथा सामाजिक संजाल मार्फत विभिन्न मनोवैज्ञानिक तथा सामाजिक कार्यकर्ताहरुद्धारा निशुल्क प्रदान गरिने मनोसामाजिक परामर्शको सहयोग समेत लिन सकिन्छ । सबैलाई यो परामर्शको आवश्यकता भने नहुन सक्छ । माथि उल्लेख गरिएका केही झिना भएपनि सकरात्मक प्रभाव प्रति आभारी रहने त्यसकै उपयोग बढाउने पनि अर्को सजिलो उपाय हुनसक्छ । हरेक व्यक्तिको आफ्नै कुनै मन भुलाउने तरिकाहरु हुन्छन्, सोही अपनाउन सकिन्छ । यसैगरि समुदायको तहमा सामुहिक रुपमा दैनिक आवश्यकताका सामाग्रीहरुको आपूर्तीकालागि सजिलो र सुरक्षित योजना तथा समयतालिका बनाउन सकिन्छ । यातायात तथा आवागमन असहज भएको यस अवस्थामा छिमेकबाट यस्ता सहयोग संक्रमण नहुने उपाय अपनाएर गर्न सकिन्छ । हाल सामुहिक रुपमा हरेक घर, पर्खाल र बाटोमा किटनाशक औषधि छरिरहेको देखिन्छ जसले कोरानाको जीवाणु सखाप नै पार्न सक्ला नसक्ला तर अन्य प्रकारका संक्रमण भने रोक्छ र यसले एक प्रकारको मनोवैज्ञानिक उर्जा भने दिएको देखिन्छ । यस्तो संकटको घडीमा समेत मौकाको फाइदा उठाउनकालागि कालोबजारी एवं भ्रष्टाचार समेत भैरहेको अवस्थामा सरकार, संचारकर्मी, नागरिक समाज एवं सामान्य नागरिक चनाखो भइ उपयुक्त कदम अपरिहार्य छ । एक व्यक्ति वा परिवारले आफ्नो स्वास्थ्य तथा आफ्ना आवश्यकता पुरागर्न आफ्नो स्रोत, साधन तथा क्षमता अनुसार परिपञ्च त मिलाउन प्रयासरत नेै हुन्छन् नै तर ती प्रयासलाई सहयोग हुने वातावरण मिलाएर लैजाने कार्य भने सरकारी संयन्त्रकै नै हुनजान्छ । सरकारले सबैकालागि जारी गरेको ‘लकडाउन’ स्विकार गरि दुखसुख आफ्नो घरमा बसीरहेका आम जनतालाई स्वभाविक रुपमा हुने मूल्यबृद्धी र आपूर्तीको असहजताले त पिडा दिएकै छ त्यसमा त्यस्ता कालोबजारी र भ्रष्टाचारले झनै दुखी र बेसहारा बनाउँछ जसले गर्दा यो कष्टकारी ‘लकडाउन’ को निहित उद्देश्य नै असफल हुनसक्ने खतरा रहन्छ । कथमकदाचित त्यस्तो भयो भने त परिणाम भयावह हुनजानसक्छ । एक हप्ताको यो जनताले भोगिरहेको परिस्थिति र सरकारले गरेका लगानि र प्रयास अर्थहिन बन्नपुग्दछ । अतः कस्ता–कस्ता प्रभाव कुन–कुन तहमा परिरहेका छन् भन्ने आधारमा नै समस्या समाधानका उपायहरु खोज्न सकिन्छ र हालसम्म देखिएका उत्कृष्ट अभ्यास बमोजिम उपलब्ध स्रोत साधन तथा क्षमता अनुसार सरकार, स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेवी, सामाजिक कार्यकर्ता, मनोवैज्ञानिक, अन्य विशेषज्ञ लगायत विभिन्न पक्षहरुद्धारा समाधानको अभियान जारी नै छ । अब केवल ती अभियानलाई बहुपक्षिय प्रयासद्धारा प्रभावकारी बनाउन आवश्यक छ किनकी यो केवल एउटा रोग वा स्वास्थ्यसम्बन्धि समस्या मात्र होइन बरु समग्र समाजको ठूलो संकट हो ।