कोरोना भाइरस महामारी र मनोविद् एवं सामाजिक कार्यकर्ताकाे भूमिका


  • डा. नरेन्द्र सिंह ठगुन्ना, मनोविद्
  • सरोज गिरी, सामाजिक कार्यकर्ता र सामाजिक कार्य विद्यावारिधि शोधार्थी
    https://www.gaunsahar.com/news-details/29654/2020-03-28
    १५ चैत शनिबार, २०७६ | २१:०४:०० मा प्रकाशित

विश्व स्वास्थ्य संगठनले २७ मार्च २०२० सम्म विश्वका १ सय ९७ राष्ट्रमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण ५ लाख ५६ हजार ९१ जनामा देखिएको तथ्यांक सार्वजनिक गरेको छ । डिसेम्बर अन्तिम सातादेखि चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको यो भाइरस संक्रमणका कारण विश्वका ४४ राष्ट्रमा गरेर हालसम्म २५ हजार २३९ जनाको ज्यान गइसकेको छ भने १ लाख २८ हजार ७१७ जना निको भएर घर फर्केको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण नेपाल लगायत विश्वका ४४ मुलुक अहिले ‘लकडाउन’ मा छन् । इबोला, सार्स र मर्स जस्ता माहामारीको समयमा विभिन्न मुलुकमा सेल्फ क्वारेन्टाइनको अभ्यास गरिएको थियो । नेपालका लागि लकडाउन, क्वारेन्टाइन र होम आइसोलेसन नयाँ अभ्यास हो । यसवेलाको विषम परिस्थितिका कारणको तनावले चिट्चिटहापन हुने, निन्द्रा र भोक नलाग्ने, रिसाउने, मनमा डर पैदा हुने, दिमागले केही सोच्न नसके जस्तो हुने वा उदास हुने जस्ता समस्या देखिन्छ ।

कोरोना भाइरस (कोविड १९) को कारण देखिने मानसिक अस्वस्थ्ताका लक्षणहरु

यस्ता लक्षणहरु पनि व्यक्तिपिच्छे फरक नै हुन्छन् । प्रकोपप्रति कसरी प्रतिक्रिया देखाउनुहुनेछ भन्ने व्यक्तिको पृष्ठभूमि र समुदायमा भर पर्छ तर, प्राय: मानिस मानसिक समस्यामा पर्ने जोखिम परिस्थिति हेरिकन फरक स्तरको हुन्छ । 

कोरोना भाइरस लाग्ला भन्ने डर, पारिवारका सदस्य, आफन्त र प्रियजनहरूको स्वास्थ्यबारे चिन्तित हुनु, खाँदै नखाने वा धैरै खाने, आत्तिनु, छटपटी हुनु, असुरक्षित महसुस हुनु, अनिश्चितता र एक्लोपनाको महसुस हुनु,चिन्ता, अविश्वास र डरको महसुस हुनु, काम गर्ने उर्जा र क्षमतामा परिवर्तन आउनु, ध्यान केन्द्रित गर्नमा कठिनाइ, निदाउनमा कठिनाइ, डरलाग्दो सपना र नराम्रो सोचाइ तथा झझल्को आइरहनु, टाउको दुख्ने, शरीर दुख्ने, पेट तथा पाचन प्रणालीमा गडबडी, रक्तचाप बढ्ने, श्वासप्रश्वासको गतिमा परिवर्तन हुने, छालामा डावर आउने जस्ता शारीरिक प्रतिक्रियाहरू देखिनु, दीर्घकालीन स्वास्थ्य समस्याहरू भएमा अझै बिग्रँदै जानु, चिडचिडापन बढ्नु, झनक्क रिस उठ्नु, मद्यपान, धुम्रपान वा लागूपदार्थको प्रयोग गर्नु तथा मात्रा बढ्दै जानु, उदाससिनता वा निराशा महसुस हुनु, निराशापन, असहायपनको महसुस हुनु आदि ।

जोखिममा रहेको समुह
सन् २०१३ मा प्रकाशित ‘डिजास्टर मेडिसिन एण्ड पब्लिक हेल्थ प्रिपेयर्डनेस’ शिर्षकको अनुसन्धानले महामारीको बेला नबसेका र क्वारेन्टाइनमा बसेका बालबालिकामाथि गरेको अध्ययनले क्वारेन्टाइनमा बस्नेमा चार गुणा बढी मानसिक समस्या भएको देखाएको छ । 

  • कोभिड-१९ को उपचारमा संलग्न व्यक्तिहरूः डाक्टर, स्वास्थ्यकर्मीहरू तथा अन्य कर्मचारीहरू
  • जेष्ठ नागरिक र दीर्घरोगीहरू
  • बालबालिका तथा किशोरकिशोरीहरू
  • पहिलेदेखि मानसिक समस्या भएकाहरू 
  • लागूपदार्थका प्रयोगकर्ताहरू    
  • मानसिक स्वास्थ्य स्वस्थ राख्ने उपायहरू 

मानसिक स्वास्थ्यमा पारेको असरलाई कम गर्ने तथा मानसिक रूपले स्वस्थ रहने विभिन्न उपाय छन् । क्वारेन्टाइनमा बस्दा कसरी मानसिक रूपमा स्वस्थ हुने उपायको शुरूआत भने आफूबाटै गर्नुपर्छ ।

  • स्वस्थ जीवनशैलीः  
  • समय तालिका बनाउने    
  • सृजनात्मक क्रियाकलापमा संलग्न गर्ने 
  • परिवारसँग रमाइलो समय बिताउने
  • सामाजिक दूरी कायम गरी संवेगात्मक सम्बन्ध कायम राख्नुहोस्
  • सीमित विश्वसनीय सञ्चारमाध्यमलाई प्राथमिकता दिने र सकारात्मक सोच राख्ने

मनोविद, मनोविमर्शकर्ता र सामाजिक कार्यकर्ताको भूमिका

 १. जब संसारभर बितण्डा मच्चाउने ‘कोरोनालाई’ महामारीको रुपमा पहिचान गरियो, तत्काल बुहान सामाजिक कार्यकर्ता संघले आफ्ना दक्ष र तालिम प्राप्त सदस्यहरुलाई राज्यको संयन्त्रसँग समन्वयन गरि स्वयंसेवक बनाई प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्श, रास्ट्रिय निर्णयको वकालत, क्वारेन्टाइनको महत्वको वकालत, सुरक्षाकर्मी र स्वास्थकर्मीको सहयोगार्थ खटाएको थियो । यसबाट के सिक्न सकिन्छ भन्दा कुनै पनि महामारीमा सामाजिक कार्यकर्ताको अहम भूमिका रहन्छ ।

२. शांघाई सामाजिक कार्यकर्ता संघले तत्काल ‘शांघाई सोसल वर्कर्स सर्भिस ग्रुप’ र गोंझाउ सामाजिक कार्यकर्ता संघले ‘गोंझाउ सामाजिक कार्यकर्ता कटन स्पोंज गार्ड हटलाइन’ स्थापना गरि त्यहाँको समुदायलाई निमोनिया,सामान्य अन्य बिरामी र महामारी कोरोनाको बिचको बारेमा लगातार परामर्श प्रदान गरि क्वारेन्टाइन अवधि भरि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सँग प्रत्यक्ष रही मनोसामाजिक परामर्श सेवा प्रदान गरिरहे । यहाँ बाट सामाजिक कार्यकर्ता र सुचना सम्प्रेषणको महत्व बुझ्न सकिन्छ । 

३. मनोविद, सामाजिक कार्यकर्ताले कोरोना संक्रमित र संक्रमणको आशंका गरिएकाहरुलाई आइसोलेसन वार्डमा, सेल्फ क्वारेन्टाइनमा र सामुदायिक क्वारेन्टाइनमा विभिन्न मनोबैज्ञानिक, भावनात्मक, चिकित्सकीय, जीवन दर्शन र जीवन उपयोगी सीपहरु सिकाउन सहयोग गर्न सक्दछन ।

४. कुनै पनि महामारीमा सबै भन्दा पीडित हुने समुह भनेको अति संबेदनशील, पिछडिएको समुदाय, दैनिक ज्यालादारी गरि जीविकोपार्जन गर्ने समूह र दीर्घ वा अल्प रोगीहरु नै हुन् । यस्तो समयमा मनोविद, सामाजिक कार्याकर्ताले राज्य वा अन्य समुदायसँग अबिलम्ब समन्वयन गरि उनीहरुको दैनिकी सहज बनाउने, हुन सक्ने महामारी रोकथाम र नियन्त्रण गर्ने गरि जनचेतना र स्राेतसँगको पहुँच निर्माण गर्ने कार्य गर्न सकिन्छ !

५. कुनै पनि समुदायमा आफ्नो कुनै सांस्कृतिक अभ्यास र यसको महत्व बुझाउने, सामाजिक सहिष्णुता र सामाजिक एकताको महत्व बुझाउने अवसर पनि हो महामारी । मनोविद, सामाजिक कार्यकर्ताले यसको बारेमा पनि वकालत गर्न सक्दछ ।

६. जब कुनै महामारी शुरु हुन्छ सबै भन्दा घातक हो अन्धविश्वास र अफवाह । मनोविद, सामाजिक कार्यकर्ताको प्रमुख काम नै आफु जहाँ रहेर पनि तथ्यपरक सूचना जनमानस सम्म पुर्याउने र कुनै महामारीसँग सम्बन्धित अन्धविश्वास र धार्मिक कुरीतिहरुको विपक्षमा तार्किक बहस र छलफल गर्ने हो ! जुन महामारीको उपचार सम्भव छैन र यसको रोकथाम नै यसको उपचार हो यो समयमा विश्वासिलो सुत्र, निकाय र वैज्ञानिक सूचना सम्प्रेषण गरि समुदायमा उच्च सतर्कता, रोकथामको उच्च तयारी र मनोबल उच्च राख्न भरपुर सहयोग गर्नु पर्दछ । सामाजिक कार्यको रोकथाम विधिको मूल मन्त्र रोकथाम नै कुनै दुर्घटना पछिको उपचार भन्दा उत्कृष्ट हुन्छ’ भन्ने कुरा महामारीको बेलामा सतर्कता अपनाउनको लागी प्रयोग गरिनु पर्दछ !

७. अन्य समयमा जस्तै सबै कार्यकर्मीहरु उपलब्ध नहुँदा महामारीको समयमा रेकर्ड सङ्कलन, अत्यावश्यक सामाजिक अनुसन्धान वा सर्भे र यसको उपलब्धि राज्य र समुदाय सम्म सम्प्रेषण पनि सामाजिक कार्यकर्ताको प्रमुख कार्य रहन सक्दछ । अन्य विषयबिज्ञ संगको अन्तरसम्बन्धको उच्च ख्याल राख्दै सबै अन्तरसम्बन्धित विषयबिज्ञ सँग समन्वयन गरि राज्य र समुदायमा तार्किक र तथ्यपरक सूचना सम्प्रेषण सहित भ्रम चिर्न मनोविद, मनोसामाजिक कार्यकर्ताको उल्लेख्य भूमिका रहन्छ !

८. मनोविद, सामाजिक कार्यकर्ताले समुदायको उच्च आवश्यकता राज्यको सम्बन्धित निकाय सम्म र राज्यको उच्च तयारीको जानकारी  समुदायको सुक्ष्म तहसम्म पुर्‍याउन मध्यस्तकर्ताको भूमिका खेल्न सक्दछ !

९. र अन्त्यमा सामाजिक कार्यकर्ता र मनोविदहरु यो समयमा राज्यको निर्देशनको प्रतीक्षा गरेर, अफबाहमा कुतर्क गरेर, राज्य र राजनैतिककर्मी वा कुनै प्रकारको नेतृत्वलाई नकारात्मक टिप्पणी गरेर बस्नको लागि उत्पादन गरिएको मानव शक्ति हैन । आफु जहाँ छौँ आफ्नो सुरक्षा सहित जति जे गर्न सकिन्छ त्यसमा आफ्नो क्षमता र स्राेतको सदुपयोग गरौं र आफ्नो विषय, आफ्नो शैक्षिक उपलब्धि र आफ्नो दक्ष समुदायको बारेमा भ्रम फैलाउने काम नगरौं । उच्च मनोबल सृजना गरौँ र गराऔँ ।